MENU

हवाईजहाजबाट मुस्ताङ जाने पर्यटक बढे

मुस्ताङ, हिमाली जिल्ला मुस्ताङमा चिसो घटेपछि हवाई यात्राबाट जोमसोम पुग्नेहरुको संख्या बढेको छ । हिउँदको २ महिना मुस्ताङमा न्यून पर्यटक भित्रिए पनि अहिले जोमसोममा चहलपहल बढेको छ ।

चिसो मौसमको समाप्तीसंगै बशन्तऋतु सुरु भएपछि भारतीय पर्यटकको संख्यामा अपेक्षाकृत बृद्धि भएको नागरिक उड्यन कार्यालय जोमसोमले जनाएको छ ।
यो मौसममा नयाँ पालुवा पलाउने र चारैतिर हरियाली छाउने भएकाले पर्यटक घुमफिरका लागि उपयुक्त समय भएको कार्यालयको भनाई छ ।

हिउँदयाममा १ मात्र उडान भर्दै आएको तारा एयरलाईन्सको जहाजले गतहप्तादेखि दैनिक पाँच उडान गरिरहेको छ । जसमा अधिकांश भारतीय छन् । वर्षायामको सुरुआत संगै जोमसोमको नियमित उडानको संख्या बढ्न सक्ने बताएको छ ।
नागरिक उड्यन कार्यालयका अनुसार निकट भविष्यमै समिट एयरलाईन्स,नेपाल वायुसेवा निगम र सिता एयरलाईन्सले पनि सेवा संञ्चालन गर्दैछन् ।

जोमसोमका लागि उडान गर्न सक्ने भौगोलिक मापदण्ड अनुसारको दक्ष क्याप्टेन अभावका कारण उडान गर्न नसकिएको जोमसोम नागरिक उड्यन कार्यालयका वरिष्ठ अधिकृत बिशाल वरुण (एयर ट्राफिक कन्ट्रोल)ले भौगोलिक हिसाबले मुस्ताङको हवाई उडान ५ औं जोखिम उडान क्षेत्रको रुपमा रहेको बताए । उनका अनुसार नेपालका उच्च हवाई जोखिम क्षेत्रहरुमा सोलुखुम्बुको लुक्ला ,मुगुको रारा, हुम्लाको सिमीकोट,जुम्लाको जुम्ला र मुस्ताङको जोमसोम बिमानस्थल हुन् ।

यी क्षेत्रमा बाक्लो हुस्सु लाग्ने,एकतर्फी अवतरण,मौसम प्रतिकुल हुने र बेजोडको हावा चल्ने हुनाले जोखिम क्षेत्रको रुपमा पहिचान गरिएको अधिकृत वरुणले जानकारी दिए ।
३ वर्षअघि मुस्ताङकै इतिहासमा ठुलो हावाहुरी चलेको नागरिक उड्डयनको रेकर्डमा उल्लेख छ ।जुन समय १ सय १ नट्स हावा चलेको थियो । यो वर्ष जलवायु परिवर्तनका कारण हिउँ नपरेका कारण डिसेम्बर र जनवरी महिनामा उडान प्रभावित नभएको जोमसोम नागरिक उड्यनले बताएको छ।

मुस्ताङ आउने बिदेश पर्यटकले २ महिना अघिनै हवाई टिकट बुकिङ गर्ने भएकाले आन्तरिक पर्यटकले हवाई यात्रा गर्ने अवसरबाट बन्चित हुनु परेको नागरिक उड्यन कार्यालयले बताएको छ । भारतीय तथा तेश्रो मुलुकका पर्यटकले दोहोरो हवाई टिकट काटेर मुस्ताङ आउने भएकाले आन्तरिक पर्यटकलाई हवाई टिकटमा समस्या देखिएको हो ।

तारा एयरलाईन्सको एक मात्र सेवा र अन्य एयरलाईन्समा जहाजको संख्या कम भएकाले आन्तरिक पर्यटक तथा चिसो छल्न बेशी झरेका स्थानीयले समेत सडकमार्गकै यात्रा गर्नुपर्ने बाध्यता छ । हाल दिनमा १ सयभन्दा बढी आन्तरिक पर्यटक मुस्ताङ आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस