MENU

सिटामोलसमेत छैन सोलुखुम्बुमा

–भोजराज कार्की
२१ माघ, सोलुखुम्बु । सोलुखुम्बुको अधिकांश स्वास्थ्य केन्द्रमा सामान्य टाउको दुख्दा, प्रयोग गरिने सिटामोल नपाएर बाहिर मेडिकलमा किन्नुपरेको सेवा ग्राहीले गुनासो गर्न थालेका छन । घन्टौँ लगाएर उपचार गर्न स्वास्थ्य चौकीमा पुगे पनि रित्तो हात फर्कनुपरेको इलाका स्वास्थ्य चौकी नेलेमा ज्वरोले ग्रस्त भएपछि चेकजाँच गराई फर्कनुभएका स्थानीय श्याम विश्वकर्माले बताउनुभयोे । यतिबेला जिल्लाको अधिकांश स्वास्थ्य केन्द्रमा औषधि अभाव हुँदा सेवाग्राही चरम मारमा परेको गुनासा आइरहेका छन् ।

paracetamolसम्बन्धित निकायले समयमा ध्यान नदिँदा आफूहरूले निःशुल्क पाउने औषधि पनि मेडिकलबाट किन्नुपर्ने बाध्यता रहेको मुक्लिका मिलन कार्कीले बताउनुभयो । जिल्लाको ३४ स्वास्थ्य केन्द्रमध्ये अधिकांश स्वास्थ्य केन्द्रमा सामान्य औषधि सिटामोल, एमोक्सिल्न, परिवार नियोजनका साधनलगायतको औषधि अभाव भएको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको भनाइ छ । देउसा स्वास्थ्य चौकी देउसाकी मासिका रामकुमारी राईका अनुसार एक महिनादेखि स्वास्थ्य चौकीबाट निःशुल्क वितरण गरिने ३४ प्रकारको औषधिमध्ये २२ प्रकारका औषधि सकिएको हो ।

दुई पटकसम्म जिल्ला स्वास्थ्य कार्यालयमा औषधि माग गरिएको भए पनि सामान्य औषधि सिटामोल, भिटामिन, परिवार नियोजनका साधनलगायतको औषधि उपलब्ध नहुँदा उपचार गर्न समस्या भएको मासिका राईले बताउनुभयो । औषधि अभाव सुरु भएसँगै १५ दिन अगाडि नै क्षेत्रिय मेडिकल स्टोर विराटनगरमा आवश्यकताअनुसार औषधि माग गरिएको भए पनि ढुवानीका कारण औषधि ल्याउन ढिलाइ भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सिटामोल, मेट्रोनटाजोल, एमोक्सिलन, परिवार नियोजनका साधन माग गरिएको र हप्ता दिनभित्र औषधि प्रत्येक स्वास्थ्य केन्द्रमा पुगिसक्ने र उपचार सेवामा सहजता आउने पनि सूचना अधिकारी पवन लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस