MENU

सडक विस्तारसँगै छोटिए पदमार्ग

कास्की । पदयात्रा पर्यटनका लागि अन्तर्राष्ट्रिय रूपमा नेपालले आफ्नो विशिष्ट पहिचान बनाए पनि अव्यवस्थित सडक विस्तारले पदमार्ग छोटिनु यतिखेर चिन्ताको विषय बनेको छ । नेपाल आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशतभन्दा बढी पर्यटक पदयात्रा एवम् पर्वतीय पर्यटनका लागि आउने गरेकोमा जथाभावी गरिएका सडक विस्तारले समग्र पदयात्रा पर्यटन नै धरासायी बन्ने हो कि भन्ने चिन्ता थपेको छ । पछिल्ला केही वर्षयता बाटो खन्ने नाममा जथाभावी रूपमा गरिएका सडक विस्तारले भूक्षय जस्ता प्राकृतिक प्रकोप त बढेको छ नै यसले नेपालको पदयात्रा पर्यटनलाई गम्भीर असर पारेको पदयात्रा सम्बद्ध व्यसायीको तर्क छ ।

नेपालको पदयात्रा पर्यटनमा ठूलो आकर्षण रहे पनि आवश्यकता र औचित्य बिना नै बाटो खन्ने नाममा भएका सडक विस्तारले उक्त क्षेत्रमा गम्भीर समस्या देखापरेको टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चलका अध्यक्ष दीपक अधिकारीले बताउनुभयो । पदयात्रा क्षेत्रमा जथाभावी बाटो नखनी ती मार्गको संरक्षण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आए पनि त्यसको सुनुवाइ नहुँदा पदमार्ग छोटिन गएको उहाँको भनाइ छ । “पदमार्गको संरक्षण र विकासको उद्देश्यले पदयात्रा क्षेत्रलाई संरक्षण क्षेत्र घोषित गर्न सरकारसँग माग गरेका छौँ,” उहाँले भन्नुभयो– “पदयात्रा क्षेत्रमा जथाभावी सडक नखन्न माग गर्दा विकास विरोधी भन्ने आरोप पनि लाग्ने गरेको छ ।” सरकारले भएका पदमार्गकै ठाउँबाट जथाभावी बाटो खनेकै कारण समस्या आएको बताउँदै उहाँले पर्यटकले लाखौँ रुपैयाँ खर्च गर्ने मार्गमा थोरै रकम खर्च गरे पुग्ने किसिमले पदमार्ग छोटिनु पदयात्रा पर्यटनको गम्भीर चिन्ताको विषय भएको बताउनुभयो ।

पदमार्ग छोटिएकै कारण पदयात्रीलाई सेवा प्रवाह गरी अन्नपूर्ण सर्किटमा पर्ने स्योङ, जगत, च्याम्से, धारापानी, ढिकुरपोखरी, चामेलगायत ठाउँमा बस्दै आएका हजारौँ परिवार यतिखेर विस्थापित हुने अवस्थामा पुगेका छन् । पर्यटकीय नगरी पोखरा आसपासको क्षेत्रमा पर्ने अन्नपूर्ण सेरोफेरो विश्वकै प्रसिद्ध १० वटा टे«किङ रुटमध्येमा पाँचौँ स्थानमा पर्ने पर्यटन व्यवसायी एवम् नेपाल ट्रेकिङ एसोसिएसन पश्चिमाञ्चल क्षेत्रीय सङ्घका निवर्तमान अध्यक्ष रामचन्द्र शर्मा बताउनुहुन्छ । पदयात्रा मार्गमा जथाभावी बाटो खन्ने क्रमसँगै विगतमा पदयात्रा गर्न २१ दिन लाग्ने गरेको बेँसीसहर– नयाँ पुल मार्ग ठाउँ ठाउँमा यातायातका साधन पुग्न थालेसँगै छोटिएर लगभग पाँच÷सात दिनकै अन्तरालमा यात्रा गर्न सकिने भएको उहाँले बताउनुभयो । बेँसीसहरबाट सुरु हुने उक्त मार्ग थोराङपास हुँदै मुक्तिनाथ, जोमसोम, तातोपानी घोरेपानी, विरेठाँटी हुँदै नयाँपुल आएर सकिन्छ ।

482x310-Annapurna-Circuit-Trek-with-Tilicho-Lake-_1453620672त्यस्तै अन्य छोटिएका पदमार्गमध्ये दुई दिन लाग्ने तातोपानी–चित्रे मार्ग गाडीबाट दुई÷तीन घन्टामा नै पुग्न सकिन्छ भने एक दिन लाग्ने नयाँपुल– घान्द्रुक मार्ग किम्टेसम्म सडक यातायात पुगेका कारण एक घन्टामा नै पुग्न सकिने भएको छ । धम्पुस भएर अन्नपूर्ण बेस क्याम्प, घान्द्रुक, लान्दु्रक जाने मार्गका साथै नयाँपुल– घोरेपानीलगायतका एकदेखि दुई दिन लाग्ने पदमार्ग छोटिएर घन्टामा सीमित बन्न पुगेका छन् । अन्नपूर्ण सेरोफेरोमा रहेका पदमार्गको संरक्षणका साथै पछिल्ला समयमा विकास हुँदै गएका पोखरा खयरलेक, पोखरा हिडेनलेक, तेरिला पास, गुरुङ हेरिटेज ट्रेलजस्ता पदमार्ग मार्गको प्रचारप्रसार आवश्यक रहेको शर्माको भनाइ छ । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण पदयात्रामा आउने पर्यटकको सङ्ख्या घटे पनि यस वर्ष पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको तथ्याङ्कअनुसार सन् २०१६ को अगस्टमा मात्रै चार हजार ३१० विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रमा पदयात्रा गरेका छन् । सन् २०१६ सम्ममा यस क्षेत्रमा पदयात्रा गर्ने पर्यटकको सङ्ख्या ४५ हजार १९१ पुगेको छ । अन्नपूर्ण सर्किटमा पदयात्राका लागि विशेष गरी अगस्ट, सेप्टेम्बर, अक्टोबर र नोभेम्बरका साथै मार्च र अप्रिलमा ठूलो सङ्ख्यामा पर्यटक आउने गरेको पाइन्छ ।
अन्नपूर्ण सर्किटमा उपल्लो मुस्ताङ, अन्नपूर्ण सर्किट ट्रेक, अन्नपूर्ण सेक्युरिटी ट्रेक, घान्द्रुक घोरेपानी सर्किट ट्रेक, घलेखर्क सर्किट ट्रेक राउन्ड मनास्लु, घाद्रुक, घम्पुस, जोमसोम, नारफूलगायतका दर्जनौँ सङ्ख्यामा उत्कृष्ट पदयात्रा मार्ग रहे पनि जथाभावी बाटो खन्ने क्रमलाई तत्काल नियन्त्रण गर्न नसके निकट भविष्यमा नै यी मार्गको अस्तित्व सङ्कटमा पर्ने पक्कापक्की छ । दयात्रा पर्यटन नेपालको विशिष्टता भएको बताउने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा भएका पदमार्गको संरक्षण गर्दै नयाँ पदमार्गको विकासका लागि राज्यको प्राथमिकता आवश्यक भएको बताउनुहुन्छ । “बाटो विस्तारका कारण मासिने क्रममा रहेका पदमार्ग पहिचान गरी तिनीहरूको तत्काल संरक्षणको योजना ल्याउनु आवश्यक छ,” उहाँले भन्नुभयो, “पदमार्ग क्षेत्रमा रहेका बस्तीलाई अन्य पायक र सजिलो ठाउँमा एकीकृत बस्ती विकास गर्दै पदमार्गलाई संरक्षण गर्न सकिन्छ ।”

प्रतिक्रिया दिनुहोस