MENU


एक करोड १८ लाखले चढे मनकामना केबलकार

१३ मंसिर,चितवन। नेपालको पहिलो केबलकार सञ्चालक मनकामना दर्शन प्रालिले १८ वर्ष पार गरेको छ । स्थापनाको १८ वर्षमा १ करोड १८ लाख तीर्थयात्रीले केबलकारको यात्रा गरी मनकामना यात्रा गरेका छन् । मनकामना दर्शनका लागि प्रत्येक वर्ष यात्रुहरु बढिरहेको कम्पनीका प्रवन्धक डीएन कायस्थले बताए ।
मनकामना दर्शनका लागि प्रत्येक दिन औसतमा ३ हजारदेखि ३५ दर्शनार्थीले मनकामना दर्शन गर्ने गरेका छन् । वार्षिक रुपमा १० लाखले केबलकार चढेको मनकामना दर्शन प्रालिको आँकडा छ ।
मनकामना जाने धार्मिक पर्यटकमा स्वदेशीका साथै विदेशी पर्यटकको सङ्यामा पनि वृद्धि भएको छ । यतिबेला दैनिक १५ देखि २० प्रतिशत भारतीय तीर्थयात्री मनकामना मन्दिरमा दर्शनका लागि आउने गरेका छन् ।
दर्शनार्थीको चापलाई व्यवस्थित गर्न ३ वटा टिकट काउन्टरको व्यवस्था गरेको छ भने नदी किनारमा पिकनिक स्टेसन, खानेपानी, ट्वाइलेटको राम्रो व्यवस्था गरिएको प्रालिका प्रवन्धक कायस्थले बताए । केबलकार स्टेसनमा अन्तर्राष्ट्रिय स्तरको रेस्टुरेन्ट र २ वटा पार्किङको व्यवस्था रहेको छ ।

स्थानीयलाई ८० प्रतिशत डिस्काउन्ट, दुई गाविसलाई वार्षिक ८० लाख
मनकामना दर्शन प्रालिले चितवनको दारेचोक गाविस र गोरखाको मनकामना गाविसका स्थानीयलाई केबलकार यात्रामा ८० प्रतिशत छुट दिएको छ । यस्तै यी दुई गाविसको विकासका लागि केबलकारको वार्षिक आम्दानीको एक–एक प्रतिशत रकम प्रदान गर्ने गरेको प्रवन्धक कायस्थले बताए ।
मनकामना नमुना गाविसका सचिव नारायण सापकोटाले केबलकारले गाविसको कुल आम्दानीमा ६० प्रतिशत बजेट योगदान गर्ने गरेको बताए । सरकारी केन्द्रीय अनुदान, केबलकार र आन्तरिक स्रोत मार्फत मनकामना गाविसको वार्षिक विकास बजेट १ करोडको हुने सापकोटाले बताए । उनले भने– ‘‘मनकामना दर्शन प्रालिले कुल बजेटको ६० प्रतिशत हिस्सा ओगटेको छ । उक्त बजेट मार्फत गाविसमा साना किसिमका योजनाहरु सञ्चालन गर्ने गरेका छौँ । अहिले हाम्रो सबै वडामा मोटरबाटो पुगेको छ ।” यस्तै चितवको दारेचोक गाविसको विकास निर्माणमा पनि केबलकार सञ्चालनले फाइदा पुगेको स्थानीयहरु बताँउछन् ।

प्रतिक्रिया दिनुहोस