१४ मंसिर, तेह्रथुम । लालीगुराँस नगरपालिका–९, कालापानीमा सञ्चालित कोसी जोनल रेन्बो ट्राउट माछापालन केन्द्रमा माछा हेर्न पर्यटकको घुइँचो लाग्न थालेको छ । स्थानीय युवा व्यवसायी धर्मराज खड्काले कोसी पहाडमै पहिलोपटक व्यावसायिक रूपमा पालेका रेन्बो ट्राउट माछा हेर्न पर्यटकहरू आउन थालेका छन् । माछा अवलोकन तथा स्वाद चाख्नकै लागि भारतको बिहार, दार्जिलिङ, तराई र तेह्रथुमसहित आसपासका धनकुटा, संखुवासभा, सुनसरी, मोरङ, झापालगायत जिल्लाका पर्यटकहरूको भीड लाग्न थालेको सञ्चालक खड्काले बताए । आम्दानीसँगै जिल्लामा कृषि पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले रेन्बो ट्राउट जातको माछापालन सुरु गरेका खड्काले नजिकै कालापानी ९ब्ल्याक वाटर० रिसोर्टसमेत खोलेका छन् ।
खड्काले माछापालन र रिसोर्टका लागि २४ रोपनी जग्गा खरिद गरी पूर्वाधार निर्माणको काम गरिरहेका छन् । हाल खड्काको माछापालन फार्मबाट उत्पादित उनकै रिसोर्टमा खपत हुने गरेको छ । निर्माणाधीन भए पनि झन्डै एक वर्षयता रिसोर्ट पनि सञ्चालनमा रहेको खड्काले बताए । यही आसपासको थप ३० रोपनी जग्गासमेत लिजमा लिएर व्यवसाय सुरु गरेका खड्काको माछा फार्ममा दैनिक सरदर दुई सयको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन् । कात्तिक लाग्दैदेखि दैनिक एक–दुईवटा ग्रुपहरू पिकनिकका लागिसमेत आउने गरेका छन् । खड्काले रिसोर्टको नजिकै पिकनिक स्पटसमेत व्यवस्था गरेका छन् । करिब २ हजार ३ सय मिटर उचाइको कालापानी पहाडको भिरालो जमिनमा पहिलो चरणमा २० वटा पोखरी निर्माण गरी माछापालन व्यवसाय थालेको खड्काले बताए ।
अहिले माछापालनको क्षेत्र विस्तारको कामसमेत भइरहेको छ । उनले आगामी २ वर्षभित्र थप २० वटा पोखरी निर्माण गरी माछा उत्पादन बढाउने तथा आफँैले भुरा उत्पादन गर्नेसमेत तयारी भइरहेको बताए । पहिलोपटक दोलखा र सिन्धुपाल्चोकबाट ल्याएर पोखरीमा पालिएका ५५ हजार भुरा हुर्किएर बिक्री भइसकेका छन् । हाल ३५ हजार नयाँ भुरा लगाएको फार्मका व्यवस्थापक झमक भण्डारीले जनाए । अधिकतम ८ सय ग्रामसम्मको हुन्जेल पाल्न सकिने ट्राउट अहिले करिब ७ महिनामा खान योग्य हुन्छन् । चिसो हावापानीमा मात्रै हुर्कन र बढ्न सक्ने यो प्रजातिको माछापालन विशेष गरी उच्च पहाडी र हिमाली क्षेत्रमा हुँदै आएको छ । अहिले बाह्रै महिना चिसो हावापानी रहने यो क्षेत्रको बगिरहेको पानीमा पालिएका रेन्बो ट्राउट जातको माछा फर्म हेर्न र यसको स्वाद लिन आउनेको संख्या ह्वात्तै बढेको व्यवस्थापक भण्डारीले बताए । शान्त, सुन्दर प्राकृतिक वातावरणमा गरिएको माछापालनले विशेष गरी आन्तरिक पर्यटकलाई तानेको छ । पर्यटकको संख्या बढेपछि आउने पर्यटकलाई माछाको स्वाद चखाउन खोलिएको कालापानी ९ब्लाक वाटर० रिसोर्टमा पनि भीड हुने गरेको छ । पर्यटकहरूको आगमन बाक्लिएपछि माछाको परिकार बनाएर खुवाउन भ्याइनभ्याई हुने गरेको छ । रिसोर्ट र फर्ममा गरेर हाल ८ जनाले प्रत्यक्ष र अन्यले समेत रोजगारी पाएका छन् । पोखरीबाटै जिउँदो माछा प्रतिकेजी १६ सय रुपैयाँमा बिक्री भइरहेको सञ्चालक खड्काले बताए । फर्मबाट दैनिक सरदर २० केजीसम्म माछा बिक्री भइरहेको छ । आफूले माछापालन सुरु गरेपछि यस क्षेत्रमा कृषि पर्यटनको विकास भएको सञ्चालक खड्काले जानकारी दिए । तर, भुरा सजिलै उपलब्ध नहुने र टाढाबाट ल्याउन समस्या हुने भएकाले चुनौती पनि त्यत्तिकै रहेको उनको भनाइ छ ।
आगामी वर्षदेखि आफैँले भुरा उत्पादन गर्न पिंगुवा खोलाछेउ २० रोपनीभन्दा बढी जमिनको व्यवस्था गरेको उनले बताए । निर्माणाधीन रिसोर्टलाई व्यवस्थित गर्दै सुविधायुक्त होटेल सञ्चालन गर्ने उनले बताए । अहिले पनि रिसोर्ट र माछापालनका लागि नियमित पूर्वाधार विकासको काम भइरहेको छ । रिसोर्टसम्म पुग्नका लागि खड्का आफैँले मोटरबाटोसमेत खनेका छन् । यो रिसोर्ट लालीगुराँस नगरपालिकाको लसुने बजारबाट करिब डेढ किलोमिटरमाथि छ । यहाँसम्म पुग्न कोसी राजमार्गसँग जोडिएको चित्रे–म्याङलुङ सडकखण्डबाट करिब १ किलोमिटर कच्ची सडकको यात्रा गर्नुपर्छ ।
नयाँ पत्रिका दैनिकबाट
१५ पाैष, काठमाडौं । बिहीवार त्रिभुवन विश्वविद्यालयको ४२ औं दीक्षान्त समारोहमा नवलपरासीका एकै परिवारका चार दिदीबहिनी एकैपटक दीक्षित भएका छन् । नवलपरासीको अरुणखोलाका...
पोखरा, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) पोखरा को दोश्रो अधिवेशन भाद्र १८ गते कास्की जिल्लाको कालावाङ घडेरी होमस्टेमा हुने भएको छ । नेपाल...
१४ मंसिर, तेह्रथुम । लालीगुराँस नगरपालिका–९, कालापानीमा सञ्चालित कोसी जोनल रेन्बो ट्राउट माछापालन केन्द्रमा माछा हेर्न पर्यटकको घुइँचो लाग्न थालेको छ । स्थानीय...
१५ माघ, पथरी ९ मोरङ । उत्तरी मोरङको सुन्दर दुलारी नगरपालिका–५ स्थित हसिना सिमसार क्षेत्र पछिल्लो पटक धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास भइरहेको...
गौरी भट्ट/भक्तपुर, एक वर्ष अघि संचालनमा आएका होटल भ्यू भक्तपुर आन्तरिक र बाह्य पर्यटकको अत्यधिक रोजाईमा पर्न थालेको छ । अरनिको राजमार्ग अन्तर्गत...
अलवेज फन मिडिया प्रा.लि. दारा संचालित अलवेज टुरिजम डट कम नेपालटार,काठमाण्डौ ९८५११५३७०८
अध्यक्ष प्रधान सम्पादकः भुमराज तिवारी
कार्यकारी सम्पादकः गौरी भट्ट
सुचना विभाग दर्ता २५७/२०७३–०७४
पर्यटन खबर जानकारी हरेक पल तपाईंहरु को साथमा तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया पठाउनुहोला ।
Contact us: bhumrajtiwari@gmail.com
Mobile: 9851153708
© Copyright 2021 alwaysTourism.com All Rights Reserved.
Developed & maintained by Webtechline