MENU


व्यवसायिक पशुपालनका लागी नेपालकै कान्छो बाख्रा व्यवसायी अमृत तिवारी बने उदाहरणीय

बेल्कोट, नुवाकाेट  १८ वर्षे युवा उमेरकै सुरुवाती दिनबाट बाख्रापालनमा होमिएका अमृत तिवारी यतिखेर व्यवसायिक पशुपालनको लागि उदाहरणिय बनेका छन् । नुवाकोट जिल्लाको बेल्कोटगढी नगरपालिका ११ अमारे खोला माथि बाख्रापालन थालेको तिन वर्षमा ५० लाख लगानी भइसकेको छ भने खोर स्तरउन्नती र अरु पशुपालनको लागि करिव ५० लाखकै हाराहारीमा काम अगाडी बढाइरहेको अमृतले बताउनुभयाे  ।

AMRIT_TIWARI_GOT_FARM

काठमाण्डौको आफनै घरमा विए दोश्रो पढ्दै गर्दा राजनीति, अर्थनीति तथा सामाजिक परम्परा र मूल्य मान्यतालाई बुझेपछि आफनो स्थानमा बाख्रापालनको सम्भावना देखेर संकल्प सहित गाउँ फर्किएको अमृतले बताए । शिक्षक बुवा तथा व्यवसायी आमाले समेत सुरुमा आफनो अध्ययनलाई विचमै छाडेर गाउँ फर्कने निर्णयलाई राम्रो नमानेको बताउने अमृत अहिले बुवा आमाको  साथले आफुलाई थप हौसला मिलेको बताउनु भयाे । २१ वर्षको उमेरमा गत वर्ष वैवाहिक बन्धनमा बाधिनु भएका अमृतको दैनिकी अन्य युवाको भन्दा फरक छ ।

विहान ४ बजे उठ्ने उहाँ सुरुमा खोरमा बाख्राको अवलोकन पश्चात घाँसपात तथा अन्य काममा व्यस्त बन्नुहुन्छ । वोयर जातको उन्नत बाख्रापालनमा व्यस्त अमृतको खोरमा हाल करिव डेढ सयको हाराहारीमा बाख्रा तथा पाठापाठी छन् । बाख्रापालनको लागि नमुना स्रोतकेन्द्रको रुपमा गोठलाई अगाडी बढाइरहेकोले नयाँ आधुनिक खोरको निमार्ण थालिएको अमृतले बताउनु भयो । बाख्राको लागी चाहिने विभिन्न २५ जातका डाले घाँसहरु आफनै पाखा वारीमा विकास गरिरहनु भएका अमृतले घाँसको लागि समेत स्रोत केन्द्रको अवधारणा अगाडी बढाएको बताउनु भयो ।

मजुवादेवी कृषि तथा पशुपालन संस्था विधिवत दर्ता गरी तिन वर्षदेखि व्यवसायमा दत्त चित्त भइ क्रियाशिल अमृतले हालै खरायोपालनलाई समेत आफनो प्राथमिकतामा राख्नु भएको छ । उन्नत जातका पशुपालन गर्दा फाइदा हुने निष्कर्षमा पुग्नुभएका अमृतले पाहुनाहरुलाई बसोबास गर्नको लागि होमस्टे निमार्णको काम समेत अगाडी बढाउन लागेको बताउनु भयो । पर्यटकिय हिसावले समेत निकै उपयुक्त बाख्रापालन केन्द्र पासाङ ल्हामु राजमार्गकाे अमारे  खोलाबाट १५ मिनेटको पैदल दुरीमा पुग्न सकिन्छ ।

गत वर्ष नेपाल सरकारको नेपालकै कान्छो बाख्रापालन व्यवसायीको रुपमा सम्मान पाएका अमृतले गाउँमा अरुले पनि आफनो जस्तै पेशा व्यवसायलाई अगाडी नबढाएकोमा चिन्ता व्यक्त गर्नुभयो । हामी थोरै रकम आर्जनको लागि अरुको काम गर्नको लागि स्वदेश तथा विदेश भौतारिइरहेका हुन्छौ तर हाम्रोमा यतिधेरै सम्भावना हुदाँहुदै पनि त्यसको वेवास्ता गरिरहेका छौ । स्थानियस्तरबाट आफुलाई हौसला तथा प्रयाप्त सहयोग प्राप्त नहुने गरेको भएपनि आफुमा रहेको आत्मविश्वासका कारण आफुले यस पेशालाई नछोड्ने बताउँदै आफुले गरेको कामलाई नजिकबाट आइ हेरिदिन आग्रह गर्नुभयो । नेपालको गाउँको विकास गर्नको लागि कुरा भन्दा काम गर्न आवश्वक रहेको बताउँदै अमृतले काममा हातेमालो गर्न आउँनेलाई नि :शुल्क परामर्श दिन तयार रहेको बताउनु भयो ।

बाख्रापालनमा सवैको हौसला प्राप्त गरिरहेको अमृतले समय समयमा पशुपालन सम्बन्धि विभिन्न तालिमहरु समेत लिने गर्नुभएको छ । नेपालका विभिन्न जिल्लामा आफना पशुपालनका उत्पादनलाई पुरयाईरहनु भएका अमृतले आफनो पेशालाई आधुनिकिरण र अन्तराष्ट्रिय गुणस्तरयुक्त बनाउन आफु लागिपरिरहेको बताउनु भयो । आफनो गाउँमा सहकारी नभएकोले सहकारी स्थापनाको लागि पहल गरिरहेको बताउँदै युवाहरुलाई कृषि तथा पशुपालनमा ढुक्कले लगानी गर्न आग्रह गर्नुभयो ।

18519706_794360087393366_1584620906109583863_n18740672_800765033419538_3453620830794984567_n13307487_891629124292753_3840092916442070394_n 19146058_809776839185024_132085409286881244_n 19224817_808645339298174_2103995828707681294_n 19225011_808645212631520_1849791594631619366_n

प्रतिक्रिया दिनुहोस