MENU


रोट बिक्रीबाट मासिक ६० हजार आम्दानी

१३ असोज, पाल्पा । प्रसिद्ध ऐतिहासिक, धार्मिक र पर्यटकीय भैरवस्थान मन्दिरमा रोट बिक्री गरेर १२ घर परिवारले मासिक रु ६० हजार आम्दानी गर्दै आएका छन् । सदरमुकाम तानसेन बजार नजिकै रहेको भैरवस्थान मन्दिर आसपासमा ती घरपरिवारको व्यवसाय नै अहिले रोट बिक्री बनेको छ । रोट भगवान् भैरवको प्रिय वस्तु मानिन्छ । भैरव मन्दिरमा आउने दर्शनार्थीले आफूले गरेको भाकल पूरा भएपछि रोट चढाउने परम्परा छ ।
दिनहुँ भैरव मन्दिरमा दर्शनार्थी बढ्दै गएपछि आसपासका क्षेत्रमा रोट पकाउने व्यवसाय बढ्दै गएको छ । खर्च कटाएर मासिक रु ५० हजारदेखि रु ६० हजारसम्म आम्दानी हुने गरेको स्थानीय व्यापारी रमेश पोखरेलले बताउनुभयो । “पूजाबाहेक अन्य समयमा मासिक रु ३० हजारसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो । rot
पछिल्लो समय भैरव मन्दिरको प्रचारप्रसार बढेपछि दर्शनार्थीले मन्दिरको दर्शन गर्ने, रोट चढाउने क्रममा वृद्धि भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद नेपाली बताउनुहुन्छ । चामलको पिठो, चिनी, नरिवल, बदाम, काजुजस्ता वस्तु मिसाएर घ्यूमा रोट पकाउने गरिन्छ । रोटको एक मानाको जोडीलाई रु १५० र पाथीकोलाई रु दुई हजार लिने गरिएको छ ।
स्थानीय व्यापारी तेजबहादुर पोखरेल जतिबेला पनि व्यापार हुने हुँदा परिवारको गुजारा चलाउन सजिलो भएको बताउनुहुन्छ । भैरव मन्दिरमा एसियाकै ठूलो त्रिशूल रहेका कारण पनि यसको गरिमा र महत्व बढ्दै गएको पोखरेलको भनाइ छ ।
पाल्पाका तात्कालीन सेन वंशी राजा मणिमुकुन्द सेनले १६औँ शताब्दीमा भैरव बाबा उत्पत्ति भएको ठाउँमा सो मन्दिर निर्माण गरेका थिए । मन्दिरसँगै रहेका पौवाबाट मणिमुकुन्द सेनले नियमित भैरवको आराधना गर्ने गर्दथे । मन्दिर दुई तलामा रहेको छ । माथिल्लो भागमा बटुक भैरवको मूर्ति छ भने तल्लो भागमा भयङ्कर कालभैरवको मूर्ति रहेको छ । माहाकाल भैरव रहेको कोठामा सयौँ वर्षदेखि अखण्ड ज्योति बलिरहेको पुजारी गीतानाथ योगी बताउनुहुन्छ । मन्दिरको छानामा स्वर्ण जलप लगाइएको गजुर रहेको छ । भैरवबाबासँग भाकल गरेमा मनोकामना पूरा हुने विश्वासले देशभरबाट भक्तजन आएर रोट चढाउने र बलि दिने गर्दछन् । दसैँको नवरात्र, वैशाख र मङ्सिरमा सो मन्दिरमा बढी भिड लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस