MENU


भिटोफ पोखराको दोश्रो अधिवेशन भाद्र १८ गते कालावाङ होमस्टेमा हुँदै

पोखरा, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) पोखरा को दोश्रो अधिवेशन भाद्र १८ गते कास्की जिल्लाको कालावाङ घडेरी होमस्टेमा हुने भएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रमको तयारी भइरहेको भिटोफ पोखराका सचिव रविन्द्र राज पौडेलले बताउनु भयो ।

डेढ सय व्यक्तिको उपस्थितिमा कार्यक्रम सम्पन्न हुने सचिव पौडेलले जानकारी दिनुभयो । अधिवेशनले नयाँ नेतृत्व समेत चुन्ने छ । एक रात विताउने र विशेष सांस्कृतिक कार्यक्रम गरी उत्लासमय तरिकाले अधिवेशन मनाउने तयारी भइरहेको भिटोफ पोखराले जनाएको छ ।
अधिवेशनमा होमस्टेका अभियन्ता स्वर्गिय क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार समेत प्रदान गरिने भिटोफ पोखराका अध्यक्ष तारानाथ पहारीले बताउनु भयो । सो पुरस्कार छनौटका लागि नागरिक दैनिकका पत्रकार अमृत भादगाउँले को संयोजकत्वमा नेपाल पर्यटन बोर्ड पोखराका बरिष्ठ अधिकृत सूर्य थपलिया र भिटोफका राजेश पहारीको समिति गठन भएको छ । स्वर्गिय गुरुङले स्याङजा जिल्लाको सिरुवारीमा पहिलो होमस्टे संचालनमा ल्याउनु भएको थियो । दुई वर्ष अगाडी मात्र उहाँको निधन भएको थियो ।

भिटोफ पोखराको सक्रियतामा पछिल्लो दुई वर्षयता प्रदेश नं. ४ मा होमस्टे प्रवर्दनका विभिन्न कार्यक्रमहरु आक्रामक रुपमा भइरहेको भिटोफ पोखराका सचिव रविन्द्रराज पौडेलले बताउनु भयो । पर्यटकिय नगरी पोखरा आसपासमा संचालनमा रहेका होमस्टेले ग्रामिण पर्यटनलाई ठूलो टेवा पु¥याउँदै आएको छ । स्थानिय संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा पर्यटनप्रति जनतामा सकारात्मक उत्साह जगाउन नेपाल पर्यटन बोर्डको सहकार्यमा प्रचारात्मक कार्यक्रमले थप निरन्तरता पाउने पौडेलले बताउनु भयो ।

पोखराबाट १ घण्टाको दुरीमा रहेको कालावाङ होमस्टे पछिल्लो समय स्वदेशी तथा विदेशीहरुको रोजाईमा पर्दै आएको छ । कालाबाङ घडेरी होमस्टे पोखराको पर्यटकिय क्षेत्र पुम्दी भुम्दी क्षेत्रमा पर्दछ । सूर्योदय, सूर्यास्त, हिमालहरुको अवलोकन, फेवा ताल तथा पोखराको सुन्दर दृश्यावलोकनको लागि सो क्षेत्र उपयुक्त मानिन्छ । कालाबाङ घडेरीमा गुरुङ समुदायको बाक्लो बसोबास रहेको छ । कालाबाङ सामुदायिक होमस्टे प्रर्वद्धनमा एसियन फोरमले सहकार्य गर्दै आएको थियो । दुई तिन वर्षयता गाउँको सरसफाई, अतिथी सत्कार, आम्दानी, सकारात्मक र आशावादी सोचको विकास भएको कालावाङ घडेरी होमस्टेका अध्यक्ष राजबहादुर गुरुङले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस